केशव भट्ट,बैतडी, साउन २१ गते।
नेपाली कांग्रेस बैतडीले पार्टी सुदृढीकरण र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै दोगडाकेदार गाउँपालिकाका सबै वडामा वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
साउन १३ गते वडा नम्बर २ बाट सुरु गरिएको उक्त कार्यक्रम आज सम्पन्न भएको हो। प्रशिक्षणका क्रममा नीति, विधि, विधान, संगठनात्मक संरचना, पार्टीको आदर्श र सिद्धान्तदेखि लिएर गाउँस्तरसम्म कार्यकर्ताको सक्रियता र संवादलाई जोड दिइएको थियो।
कार्यक्रमको समापनमा नेपाली कांग्रेस बैतडीका जिल्ला कार्यसमिति सदस्य केशवराज जोशीले आठवटै वडामा प्रशिक्षण समीक्षासहित कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभयो।
प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रशिक्षण संयोजक वीरबहादुर विष्टको विशेष सहभागितामा सञ्चालन गरिएको थियो।कार्यक्रमबारे जानकारी दिँदै गाउँपालिका सभापति नन्दराज भट्टले सबै वडामा उत्साहजनक सहभागिता रहेको बताउनुभयो।
प्रशिक्षणका क्रममा टोलस्तरमा संगठन विस्तार, नियमित बैठक, कार्यकर्ता सुदृढीकरण, जलवायु परिवर्तन र ग्रामिण अर्थतन्त्रका सवालमा समेत छलफल गरिएको र स्थानीयस्तरमै प्रशिक्षित नेतृत्व निर्माण हाम्रो उद्देश्य रहेको उपसभापति वीर बहादुर विष्टले जानकारी दिनुभयो।
पार्टी एकढिक्का बनाउने, संगठन सुदृढ गर्ने र जनस्तरसम्म विचार पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको प्रशिक्षण अभियानले सकारात्मक परिणाम दिने विश्वास गरिएको र अब यो अभियान जिल्लाभरि नै फैलाउने तयारीमा रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।












