साउन २० गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको वर्तमान सरकार गठनको एक वर्ष पुगेको छ। गत वर्ष साउन २० गते दोस्रोपटक मुख्यमन्त्री बनेका शाहले मंगलबार पत्रकार सम्मेलनमार्फत सरकारको एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।
तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदत्याग गरेपछि प्रदेश प्रमुखको आह्वानमा नागरिक उन्मुक्ति पार्टीका दुई जनासहित तीन जनाले मुख्यमन्त्री बन्ने दाबी पेस गरेका थिए। दलगत हैसियतअनुसार सवैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता शाहले दोस्रोपटक सरकारको नेतृत्व सम्हालेका थिए।
साक्षर प्रदेश घोषणादेखि कानुन निर्माणसम्मको फड्को: मुख्यमन्त्री शाहले प्रदेशलाई साक्षर घोषणा गरिएको जानकारी गराउँदै आफ्नो सरकारको कार्यकालमा १८ वटा ऐन, नियम, निर्देशिका तथा कार्यविधिहरू जारी गरिएको बताए।
उनले प्रदेश सरकारको वित्तीय कार्यसम्पादनमा पनि उल्लेखनीय सुधार आएको दाबी गरे। आर्थिक वर्ष २०८१/०८२ मा कुल ७०.२२ प्रतिशत बजेट खर्च भई वित्तीय प्रगति हासिल गर्न सफल भएको उनले जानकारी दिए। यो प्रगति प्रदेशको इतिहासमै हालसम्मकै उच्च रहेको उनको भनाइ थियो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दा सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अंक प्राप्त गर्दै सबै प्रदेशमध्ये पहिलो भएको मुख्यमन्त्री शाहले बताए।
सडक र पूर्वाधार निर्माणमा तीव्रता: पछिल्लो एक वर्षमा प्रदेश सरकारले करिब ३५५ किलोमिटर सडक निर्माण तथा मर्मत कार्य सम्पन्न गरेको छ। जसमा १०६ किलोमिटर कालोपत्रे, १०३ किलोमिटर ग्राभेल र १४६ किलोमिटर कच्ची सडक रहेको उनले उल्लेख गरे।
खानेपानी सुविधामा लाखभन्दा बढी लाभान्वित: २०८२ असार मसान्तसम्म प्रदेश सरकारले १ लाख ३ हजार ५२४ जनसङ्ख्यालाई खानेपानी सेवा उपलब्ध गराएको जानकारी मुख्यमन्त्री शाहले दिए।
उनका अनुसार ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, २ हजार १३३ किलोमिटर पाइपलाइन विस्तार तथा ११ हजार ९३९ निजी धारा जडान गरिएका छन्।
अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत कैलालीका जानकी, बर्दगोरिया, जोशीपुर गाउँपालिका तथा डोटीको दिपायल सिलगढी नगरपालिकामा अर्ब ३८ करोड ७० लाख बराबरको खानेपानी आयोजना कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए।
सिँचाइ र नदी नियन्त्रणमा ध्यान: गत आर्थिक वर्षमा १ हजार ६२८ हेक्टर जमिनमा सिँचाइ सुविधा थप गरिएको तथा २७ किलोमिटर तटबन्ध निर्माण गरिएको उनले बताए।
त्यसैगरी, नदी उकासबाट २७ हेक्टर जमिन प्राप्त गरिएको समेत उनले जानकारी दिए।










