बैतडी : लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि पुर्चौडी नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन्।
गत असार ३२ गते र साउन २–३ गतेको अविरल वर्षाले बिजयपुरदेखि दोगडाकेदार हुँदै सदरमुकाम जोड्ने मुख्य सडकखण्डमा पहिरो जाँदा भङाड बस्ती उच्च जोखिममा परेको हो। पहिरोले सडक छेउछाउ भासिँदा कम्तीमा ६ घरमा खतरा उत्पन्न भएको स्थानीय अमर महराले जानकारी दिए।
जोखिममा परेका स्थानीयले समयमै पहिरो पन्छ्याउन माग गर्दै वडा कार्यालय र नगरपालिकामा पटकपटक जानकारी गराए पनि १३ दिनसम्म कुनै पहल नभएको गुनासो गरेका छन्। “समस्या समाधानतर्फ ध्यान नदिएको भन्दै हामी तालाबन्दी गर्न बाध्य भयौं,” महराले भने।
यसबीच वडा अध्यक्ष हिक्मत बहादुर बिष्टले भने समस्या बारे जानकारी भएको बताए। “डोजर पठाउने तयारी थियो तर मेसिन बिग्रिएर रोकिएको हो,” उनले भने, “मर्मत भइरहेकाले अब छिटै पठाउने छौं।”








