साउन १३गते ।
साउन शुक्ल पञ्चमीका दिन आज देशभर नागपञ्चमी पर्व पूजाआर्चनासहित श्रद्धा र भक्तिसाथ मनाइँदैछ। धार्मिक परम्पराअनुसार घरको मूलढोकामा नागको चित्र टाँसी नाग, सर्प, बिच्छीलगायतका जीवजन्तुबाट जोगिन तथा अग्नि, मेघ र चट्याङको भयबाट मुक्त हुने विश्वास रहेको छ।
वैदिक मान्यता अनुसार नाग सर्पको राजा मानिन्छन्। नाग रिसाए पानीको अभाव हुने भएकाले वर्षा र जलसम्बृद्धिका लागि पनि नागपूजा गर्ने परम्परा रहिआएको छ। बराहपुराणमा उल्लेख भएअनुसार ब्रह्मा र नागराजबीच संवाद भएको दिनको सम्झनामा साउन शुक्ल पञ्चमी विशेष पर्वका रूपमा मनाइने गरिएको हो।
नागलाई विष्णु तथा शिवको प्रतीकका रूपमा मान्ने प्रचलन वैदिक कालदेखि चलिआएको छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कुलका नागहरूलाई विशेष रूपमा पूजिन्छ। ब्राह्मण पुरोहितमार्फत विधिपूर्वक पूजाआजा गरी ती नागहरूको चित्र घरको मूलढोकामा टाँस्ने चलन रहेको छ।
आजको दिन खेतबारीमा खनजोत नगर्ने तथा सर्प वा नाग प्रजातिका जीवलाई नमार्ने धार्मिक परम्परा रहेको छ। वैज्ञानिक दृष्टिकोणले पनि सर्प प्रजातिले वातावरणमा रहेको विषालु तत्वलाई अवशोषण गरी अन्य जीवलाई असर नपर्ने बनाउने पुष्टि भएपछि ऋषिमुनिहरूले नागजातिको पूजा गर्नुपर्ने रित बसालेको विश्वास गरिन्छ।
नागपञ्चमीसँगै नेपाली समाजमा चाडपर्वको मौसमको सुरुआत भएको मानिन्छ।








