हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानको आसपास र पश्चिमी भागमा सामान्यतः उत्तरतर्फ सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था देखिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सावधानी अपनाउन महाशाखाको आग्रह
सोमबार देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि महाशाखाले औंल्याएको छ।
महाशाखाले सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भन्दै सतर्क रहन सबैमा अनुरोध गरेको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिमसमेत रहेको हुँदा सतर्कता र पूर्वतयारी गर्नुपर्ने महाशाखाले जनाएको छ। साथै, नदी, खोलानाला तथा जलस्रोतहरूको सतह बढ्न सक्ने भएकाले सम्बन्धित निकायहरूलाई आवश्यक तयारी गर्न भनिएको छ।






