केशव भट्ट, बैतडी ।
नेपाली कांग्रेस पाटन नगरपालिका–३ र १० मा पार्टीको वडा सम्मेलन सम्पन्न भएको छ। संगठनलाई सशक्त एवं विधिसम्मत बनाउने उद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान समेत प्रदान गरिएको छ।
वडा नं ३ मा सम्पन्न सम्मेलनका अवसरमा नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका जेष्ठ क्रियाशील सदस्यहरुलाई दोसल्ला ओढाइ र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।
यस्तै, वडा नं १० मा समेत सम्मेलन सम्पन्न गरी पार्टी सदस्यता वितरण तथा संगठन विस्तारका विषयमा व्यापक छलफल गरिएको थियो।
सम्मेलनमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, कोषाध्यक्ष चक्रबहादुर चन्द, महासमिति सदस्य नरेन्द्र भट्ट, पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावल, जिल्ला कार्यसमिति सदस्य रमेश बोहरा, नगर सभापति रमेश महरा, वडा नं ६ का अध्यक्ष राजेन्द्रसिंह बिष्ट र वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुंवर लगायतको उपस्थिति रहेको थियो।
कांग्रेस सभापति चतुरबहादुर चन्दले जिल्लाभर पार्टीमा योगदान पुर्याउँदै आएका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने अभियानलाई निरन्तरता दिइएको जानकारी दिनुभयो। उहाँले वडा सम्मेलनमार्फत पार्टी संगठनलाई अझ प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो।
कार्यक्रममा नव–क्रियाशील सदस्यहरुलाई पार्टी सदस्यता वितरण गरिएको थियो।
यसैबीच, नेपाली कांग्रेसले सोमबार पाटन नगरपालिकाका वडा नं १ र ७ मा सम्मेलन आयोजना गर्ने र मंगलबार वडा नं ४, भुमेश्वरमा कार्यक्रमको समापन गर्ने तयारी गरेको कोषाध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिनुभयो।










