केशव भट्ट, बाशुलिङ्ग/बैतडी।
सनातन वैदिक परम्पराअनुसार आषाढ शुक्ल एकादशीका दिनलाई अत्यन्तै पवित्र र धार्मिक दृष्टिले महत्वपूर्ण दिनको रूपमा लिने गरिन्छ। यही अवसरमा आजदेखि भगवान् विष्णुको शयन काल प्रारम्भ भई चार महिनासम्म चल्ने चतुर्मास व्रत सुरु भएको छ। यस दिनलाई ‘हरिशयनी एकादशी’ पनि भनिने बैतडीका स्थानीय पण्डित कृष्णदेव भट्टले बताउनुभयो ।
बैतडी, डडेल्धुरा, डोटी, अछाम लगायत सुदूरपश्चिमका पहाडी गाउँघरदेखि तराईका बस्तीहरूमा समेत आज बिहानैदेखि घरघरमा तुलसीको बिरुवा पूजासहित तुलसीको मोठमा सारिएको छ। एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिन दल राखेर तयार पारिएको तुलसी बिरुवा आज पूजासहित ठूलो तुलसी मोठमा सारेर चार महिना नियमित पूजा गर्ने परम्परा रहीआएको बैतडीको सुर्नया गाउँपालिका–३ का ज्योतिष पुष्कर भट्टले बताउनुभयो ।
“तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ,” ज्योतिष भट्टले जानकारी दिनुभयो।
चार महिनाको चतुर्मास व्रत सुरु:सनातन धर्मशास्त्रअनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना भगवान् विष्णुले क्षीरसागरमा शयन गर्ने विश्वास गरिन्छ। यसै कारण आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। चतुर्मासको अवधिमा विवाह, यज्ञ, ब्रतबन्ध, गृहप्रवेशजस्ता शुभ कार्य नगर्नु शुभ मानिने भट्टले बताउनुभयो ।
वर्षमा २४ वटा एकादशी पर्छन्। तीमध्ये चतुर्मास अवधिमा पर्ने आठ एकादशीलाई विशेष मानिन्छ।”सक्नेले सबै एकादशीमा व्रत बस्ने परम्परा छ।”तर व्यस्त जीवनशैली भएका वा शारीरिक कारणले निरन्तर व्रत बस्न नसक्नेहरूले कम्तीमा आजको हरिशयनी र कार्तिकको हरिबोधिनी एकादशीमा व्रत बस्नुपर्छ भन्ने मान्यता रहेको” पाटन नगरपालिका–८ का पण्डित हरिदत्त भट्टले बताउनुभयो ।
एकादशीको फलाहार र धार्मिक विधि:व्रत बस्ने भक्तजनहरू आजका दिन अन्नजन्य परिकार नखाई फलाहार मात्र गर्छन्। रोटी, दूध, फलफूल आदिको सेवन गर्न मिल्ने दसरतचन्द नगरपालिका -७का पण्डित गणेश दत्त भट्टले बताउनुभयो । “एकादशीको दिन अन्न नखाइ शुद्ध शरीर र मनले भगवानको पूजा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास समेत कायम रहेको उहाले बताउनुभयो।”
हरिशयनी एकादशीका दिन देशभरका विष्णु तथा नारायण मन्दिरहरूमा विशेष पूजा–आराधना गरिन्छ। बैतडीका बैतडी लगायत सुदूरपश्चिमका बिभिन्न स्थानमा रहेका विष्णु मन्दिरहरूमा भक्तजनहरूको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ।
चतुर्मास अवधिमा ब्रह्मचारी व्रत, दान, जप, तप, नियम तथा सत्कर्म गर्नाले जीवनमा शान्ति, सन्तान सुख र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको स्थानीय धार्मिक अगुवाहरु बताउँछन् ।






