बैतडी, असार २१गते ।
शिवनाथ गाउँपालिका–२ स्थित ऐतिहासिक शर्माली गढीको संरक्षणका लागि वृक्षारोपण गरिएको छ।
गढीको चारैतिर घेरबार गरिएको क्षेत्रमा शुक्रबार नागार्जुन मावि शर्मालीका विद्यार्थीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले गढीको संरक्षणका लागि केही वर्षअघि घेरबार गरिएको भए पनि हाल आएर त्यसमा तोडफोड भएको जानकारी दिए। उनका अनुसार, गाईगोरुले नखाने ‘इन्नो’ (सञ्जिवनी) जातका बिरुवाहरू रोपिएको छ।
साउदले भने “घेरबारको रक्षा र वातावरण संरक्षण दुवै उद्देश्यले वृक्षारोपण गरिएको हो। विद्यार्थीहरूलाई समेत संरक्षणमा जोडिएको छ।”
नेपाल–अंग्रेज युद्धकालमा गोर्खाली सेनाले शर्माली गढीलाई मुख्य सैन्य किल्लाको रूपमा प्रयोग गरेको ऐतिहासिक तथ्य छ। सन् १७९० मा कुमाउ विजयको क्रममा गोर्खाली सेनाले गढीमा टुकुडी तैनाथ गरेको जानकार शिवराज कलौनीले बताए।
“शर्माली गढी अमरगढी किल्लाको सहायक किल्ला हो,” उनले भने, “त्यस बेलाका सुरुङ, पर्खाल र प्रवेश मार्ग अहिले पनि देख्न सकिन्छ।”
गढीको पहुँच सहज बनाउन नेपाली सेनाले केही वर्षअघि १५ लाख रुपैयाँको लागतमा २६३ मिटर लामो पदमार्ग निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो।










