केशवराज भट्ट, बैतडी, असार १९ गते।
बैतडीको दोगडाकेदार गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको छ। पालिकाभरिका सुत्केरी महिलाहरूलाई स्वास्थ्य संस्थामै सुरक्षित रूपमा प्रसूति गराउने लक्ष्य हासिल गरेपछि बिहीबार औपचारिक रूपमा घोषणा गरिएको हो।
गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले सुरक्षित मातृत्व प्रवर्द्धनका लागि गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो। “हामीले प्रत्येक आमालाई सुरक्षित रूपमा सुत्केरी गराउने प्रण गरेका थियौं, त्यो आज पूरा भएको छ,” उहाँले भन्नुभयो।
स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार विगत तीन वर्षमा ९ सय ५० जना सुत्केरी महिलाले विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन्।
घोषणा कार्यक्रममा उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। मन्त्री भण्डारी गृहजिल्ला भ्रमणको क्रममा तीनदिने यात्रा अन्तर्गत बुधबार बैतडी पुगेका हुन्।










