केशव भट्ट,बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा बैतडी जिल्लाबाट सहभागी भएका परीक्षार्थीमध्ये ५२.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जिल्लाभरका सामुदायिक तथा संस्थागत गरी १३३ विद्यालय सहभागी भएका मध्ये चार विद्यालयको नतिजा भने पूर्ण रूपमा शून्य रहेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका अनुसार पुर्चौंडी नगरपालिकाको महादेव मावि त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय मावि कफाडी, शिवपूर्ण मावि तथा दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत माविको नतिजा शून्य आएको हो। सरस्वती संस्कृत माविको नतिजा गत वर्ष पनि शून्य नै थियो।
यद्यपि, अघिल्लो वर्ष जिल्लाका १८ वटा विद्यालयको नतिजा शून्य रहेकोमा यसपटक नतिजामा केही सुधार देखिएको इकाइले जनाएको छ।
गत चैतमा सम्पन्न एसईईमा जिल्लाबाट ४ हजार ३०७ जना परीक्षार्थीले फारम भरेका थिए। तीमध्ये ८९ जना परीक्षामा अनुपस्थित रहेका थिए भने ४ हजार २ सय १८ जना परीक्षामा सहभागी भएका थिए।










