back to top
Home प्रदेश समाचार सुदूरपश्चिम प्रदेश अमर शहीद दशरथ चन्दको १२३औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण

अमर शहीद दशरथ चन्दको १२३औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण

0
134

बैतडी, अमर शहीद दशरथ चन्दको १२३औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गरिएको छ। देशमा प्रजातन्त्र स्थापना र जनताको अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान स्मरण गरिएको हो।

श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति, स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवाहरु तथा सर्वसाधारण नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरुले शहीद चन्दले देखाएको अदम्य साहस र बलिदानको स्मरण गर्दै वर्तमान पुस्ताले उहाँको विचार र आदर्शलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए।

वि.सं. १९६० सालमा हालको बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–५, बसकोटमा जन्मनुभएका दशरथ चन्दले भारतको पिथौरागढ, अल्मोडा र बनारसमा अध्ययन गर्दागर्दै भारतको स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो। महात्मा गान्धीको नेतृत्वबाट प्रेरित चन्द नेपाल फर्किएपछि राणा शासनविरुद्धको आन्दोलनमा होमिनुभयो।

वि.सं. १९९३ मा टंकप्रसाद आचार्यको नेतृत्वमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल ‘नेपाल प्रजापरिषद्’को उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै उहाँले संगठित र सशक्त ढंगले राणा शासनविरुद्ध अभियान चलाउनुभयो।

शाही सत्ताविरुद्धको संघर्षकै क्रममा वि.सं. १९९७ साल माघ १५ गते काठमाडौँको शोभा भगवती क्षेत्रमा जर्नेल नरसमशेर जबराको गोली प्रहारबाट दशरथ चन्दले सहादत प्राप्त गर्नुभयो।

शहीद चन्दले देखाएको त्याग, साहस र बलिदान आज पनि प्रेरणाको स्रोत बनेको छ। उहाँप्रति गहिरो सम्मान र हार्दिक श्रद्धाञ्जली अर्पण गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here