केशव भट्ट,बैतडी, असार १०।
सुर्नया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। मंगलबार गाउँसभामा उपाध्यक्ष मञ्जु बोहराले पेश गरेको नीति तथा कार्यक्रम सभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले जानकारी दिनुभयो।
‘कृषि, पर्यटन र पूर्वाधार : सुर्नया विकासको मूल आधार’ भन्ने मूल नाराका साथ प्रस्तुत नीति तथा कार्यक्रममा युवालाई आन्तरिक रोजगारीमा जोड्ने, रोजगारदाता र रोजगारी खोजीमा रहेकाबीच समन्वय गर्ने, कक्षा ५ र ८ का लागि पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने, विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना समेटिएका छन्।
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने, आयुर्वेद सेवामा नागरिकको पहुँच विस्तार गर्ने र धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन तथा विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ।
सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले समुन्नत सुर्नया निर्माणका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
उपाध्यक्ष बोहराले आगामी आर्थिक वर्षका लागि ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको छ। उक्त बजेटमा कार्यपालिकाले छलफल गरी असार १६ गते पुनः गाउँसभामा प्रस्तुत गरिने जनाएको छ।










