केशवराज भट्ट,बैतडी,असार ९ गते ।
बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु भएको छ। पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमुना माध्यमिक विद्यालय र मेलौली नगरपालिका–७ स्थित मणिलेक माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै तालिम सुरु गरिएको हो।
तालिमका लागि प्रत्येक विद्यालयबाट ३० जना गरी कुल ६० जना विद्यार्थी छनोट गरिएको श्रीबक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले बताउनुभयो । छनोटमा प्रत्येक विद्यालयबाट १५ छात्र र १५ छात्रा समावेश हुदै आएको थापाले जानकारी दिनुभयो ।
तालिमबाट राष्ट्रप्रेम, अनुशासन, नेतृत्व विकास, जफादारी, इमान्दारिता तथा सामाजिक सेवाका विषयमा विद्यार्थीलाई सशक्त बनाइने गुल्मपति थापाले बताउनुभयो । “यो तालिमले विद्यार्थीलाई चरित्रवान्, अनुशासित र राष्ट्रप्रति समर्पित नागरिक बनाउन मद्दत पुर्याउने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो।
एक सय दिनको तालिममध्ये ७९ दिन विद्यालयमै र बाँकी २१ दिन क्लोज क्याम्पका रूपमा सञ्चालन गरिनेछ। तालिमको क्रममा सैन्य अनुशासन, विपद् व्यवस्थापन, सरसफाइ, वातावरण संरक्षण लगायतका विषयमा पनि विद्यार्थीलाई जानकारी गराइने गुल्मपति थापाले बताउनुभयो।
ज्ञानेश्वर नमुना माविका प्रधानाध्यापक पुष्पराज जोशीले तालिमले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शैक्षिक गतिविधिसँगै यस्तो तालिमले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रभक्तिको भावना विकास गर्न मद्दत पुग्नेछ।”
नेपाली सेनाले सन् २०१३ देखि देशभरका विद्यालयमा राष्ट्रिय सेवा दल कार्यक्रम विस्तार गर्दै आएको छ। एनसिसी तालिमले अनुशासित, सक्षम र जिम्मेवार नागरिक उत्पादनमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।












