केशव भट्ट,बैतडी । बैतडीको सिगास गाउँपालिकालाई ‘पूर्णखोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ। खोप पाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत निर्धारित सम्पूर्ण खोप पाएको पुष्टि भएपछि मंगलबार यो घोषणा गरिएको हो।
गाउँपालिकाभरिका ५ वर्षमुनिका १ हजार ८७ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सबै खोप प्राप्त गरिसकेको सिगास गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक भिमसिंह ऐरीले जानकारी दिनुभयो। उहाँका अनुसार, हरेक वर्ष खोपको सुनिश्चिततापछि पालिकालाई पूर्णखोप पालिका घोषणा गरिँदै आएको छ।
बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्ध राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप दिइँदै आएको जनाइएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिसिंह धामीले स्वास्थ्य सेवा पहुँच वृद्धि र सुधारप्रति पालिका प्रतिबद्ध रहेको बताउनुभयो।
पूर्णखोप सुनिश्चित घोषणामा योगदान पुर्याएको भन्दै गाउँपालिकाभित्रका ९ वटै वडामा रहेका ११ वटा स्वास्थ्य संस्थालाई प्रशंसापत्र प्रदान गरिएको छ। कार्यक्रममार्फत खोपको निरन्तरता र दीगो सुनिश्चितताको लागि सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।










