केशब भट्ट,बैतडी:बैतडीको पुर्चौडी नगरपालिका अन्तर्गत बसन्तपुर, गिरिजाबगर र ढोल्यामोड बजार क्षेत्रको संयुक्त अनुगमनमा म्याद नाघेका औषधि, अखाद्य वस्तु तथा अवैध रूपमा सञ्चालनमा रहेका पसलहरू फेला परेका छन्।
स्वास्थ्य कार्यालय बैतडी र ईलाका प्रशासन कार्यालय पुर्चौडीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो। अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय पुर्चौडीका प्रमुख शंकरबहादुर बोहरा, जिल्ला अस्पतालका डा. सिजन खड्का, स्वास्थ्य कार्यालयका अधिकृत तारादत्त भट्ट, ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडाल, र पुर्चौडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्र प्रसाद अवस्थी लगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालका अनुसार अनुगमनमा सुर्तीजन्य वस्तु, मेडिकल, खाद्य तथा पेयपदार्थहरूमा विशेष जाँच गरिएको थियो।
अनुगमनको क्रममा म्याद नाघेका पेयपदार्थ, अखाद्य वस्तु, डाक्टरको सल्लाहबिना बेच्न नपाइने औषधिहरू, र दर्ता नगरी सञ्चालनमा रहेका पसलहरू फेला परेका जिल्ला अस्पतालका डा. सिजन खड्काले जानकारी दिनुभयो।
ईलाका प्रशासन कार्यालय प्रमुख शंकरबहादुर बोहराले पहिलोपटक चेतावनी दिँदै, “पसल दर्ता गरिनुपर्ने, म्याद नाघेका तथा अखाद्य वस्तु विक्री गर्न नपाइने सन्देश दिइएको छ। दोहोरिएमा कडा कानुनी कारबाही हुनेछ,” भन्नुभयो।
म्याद नाघेका तथा अखाद्य वस्तुहरू तत्काल जफत गरी नष्ट गरिएको स्वास्थ्य टोलीले जनाएको छ।










