केशब भट्ट,बैतडी।
बैतडी जिल्ला अस्पतालमा बहुप्रतीक्षित एमडीजीपी (सामान्य चिकित्सा विशेषज्ञ) सेवा सुरु गरिएको छ । सरकारी छात्रवृत्ति करारअनुसार डा. पविन उपाध्यायलाई जिल्ला अस्पतालमा पदस्थापन गरिएको अस्पतालका प्रमुख डा. सुशील विकले जानकारी दिनुभएको हो ।
एमडीजीपी विशेषज्ञ सेवा सञ्चालनमा आएपछि अस्पतालमा हर्निया, हाइड्रोसिल, एपेन्डिक्स लगायतका शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवामा सहजता आउने र स्थानीय वासीलाई गुणस्तरीय उपचार सेवा प्राप्त हुने भएको छ ।
विशेषज्ञ चिकित्सकको उपस्थितिसँगै सुगर, प्रेसर, थाइराइड, पेट, छाती, मुटु, दमजस्ता दीर्घरोगसँग सम्बन्धित सेवा पनि विस्तार गरिएको छ । यस्तै पाइल्स, फिस्टुला, प्रोस्टेट समस्या भएका बिरामीका लागि पनि अब अस्पतालमै शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ ।
हाल बैतडी जिल्ला अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सक कार्यरत छन । यसअघि अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव र हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रतीक शाह सेवा दिँदै आएका थिए ।
अहिले तीन जना विशेषज्ञ चिकित्सकसहित एकजना दन्त चिकित्सक र सात जना मेडिकल अधिकृत अस्पतालमा कार्यरत रहेको अस्पताल प्रमुख डा. विकले जानकारी दिनुभएको छ ।
यसैबीच, हालसालै पदस्थापन भएका डा. पविन उपाध्यायलाई शुक्रबार एक कार्यक्रमबीच अस्पताल परिवारद्वारा स्वागत गरिएको छ । कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।








