कैलाली, कात्तिक ८ गते । कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ। दसैँ मनाउन परिवारसहित पहाड (गृहजिल्ला) गएको मौका छोपी चोरले सो चोरी गरेको प्रहरीले जनाएको छ।
मूल घर बैतडी भई हाल अत्तरियामा बस्दै आएका हरिमोहन भट्टको घरबाट उक्त परिमाणको सुनचाँदी र घरको गुल्लकमा जम्मा गरी राखेको करिब डेढ लाख रुपैयाँ चोरी भएको हो।
घरधनी भट्टका अनुसार उनी परिवारसहित गत असोज २५ गते दसैँ मनाउन आफ्नो घर बैतडी गएका थिए। यसैगरी कात्तिक ५ गते दसैँ पर्व सकेर अत्तरियास्थित आफ्नै घर फर्किएपछि मात्र घरमा चोरी भएको विषयमा जानकारी पाएको उनले बताएका छन्।
घटनाको बारेमा पीडित भट्टले इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दर्ता गराएका छन्। प्रहरी कार्यालय मालाखेतीले चोरीसम्बन्धी उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।









