बैतडी, भदौ २९ गते । तोकिएको समयमा सडक निर्माण तथा मर्मतको काम सम्पन्न नगर्ने बैतडीका १० वटा सडक ठेक्का सम्झौता रद्द गरिएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन पाटन बैतडीले म्याद समाप्त भइसक्दा पनि निर्माण कार्य सम्पन्न नभएका ठेक्का सम्झौता रद्द गरेको हो।
सडक डिभिजन कार्यालय बैतडीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) बमोजिम विभिन्न सडक आयोजनासँग सम्बन्धित ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको छ। सम्झौता रद्द गरिएका ठेक्कामध्ये सडक स्तरोन्नति तथा पुनर्स्थापनादेखि सडक सतह मर्मत, सडक संरचना मर्मत र सडक सुरक्षा कार्यसम्म रहेका छन्।
अनारखोली–खोड्पे–पाटन सडकखण्डको सडक संरचना मर्मत, खोड्पे–बझाङ सडकअन्तर्गत खोड्पे–चैनपुर खण्डको स्तरोन्नति तथा पुनर्स्थापना, सडक मर्मत र सडक सतह मर्मत लगायतका कामका ठेक्का सम्झौता रद्द भएका गरेका सडक डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख किरण सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै, अनारखोली–खोड्पे–पाटन–सतबाँझ–झुलाघाट मध्यपहाडी राजमार्ग, खोड्पे–चैनपुर सडक तथा सतबाँझ–गोकुलेश्वर–दार्चुला सडक अन्तर्गतका सडक सुरक्षा र मर्मतसम्बन्धी ठेक्का पनि सम्झौता रद्द हुने सूचीमा परेका वहाँले बताउनुभयो ।
सुवेदीका अनुसार न्यु सहारा कन्स्ट्रक्सन अमरगढी–७, डडेल्धुरा को अनारखोली–खोड्पे–पाटन सडकखण्डमा सडक संरचना मर्मतसम्बन्धी ठेक्का रद्द गरिएको छ। जयलक्ष्मी निर्माण सेवा, बाजाङ को खोड्पे–चैनपुर सडकखण्ड स्तरोन्नति तथा पुनर्स्थापनासम्बन्धी ठेक्का पनि रद्द भएको छ।
यसैगरी प्रभास कन्स्ट्रक्सन, पाटन–४, बैतडी का तीनवटा ठेक्का सम्झौता रद्द भएका छन्। तीमध्ये खोड्पे–चैनपुर सडकको सडक मर्मत तथा स्तरोन्नति, सडक सतह मर्मत र सडक सुरक्षा कार्यसम्बन्धी ठेक्का रहेका छन्।
श्री नरेन्द्र निर्माण सेवा, बाझाङ को खोड्पे–चैनपुर सडकको सडक सतह मर्मतसम्बन्धी ठेक्का तथा कुलगडे निर्माण सेवा, बसन्तपुर–५, बैतडी का दुईवटा ठेक्का पनि रद्द भएका छन्। कुलगडेका ठेक्कामा मध्यपहाडी राजमार्गअन्तर्गतअनारखोली–खोड्पे–पाटन–सतबाँझ–झुलाघाट सडकको सडक सुरक्षा तथा सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकको सडक सुरक्षा कार्य रहेका छन्।
त्यस्तै बिग बी एन्ड कम्पनी प्रा.लि, दशरथचन्द–४, खलंगा, बैतडी को खोड्पे–चैनपुर सडकको पुनर्स्थापनासम्बन्धी ठेक्का सम्झौता रद्द गरिएको छ। रन्सैनी निर्माण सेवा, दशरथचन्द–८, बैतडी को पनि सतबाँझ–बैतडी–झुलाघाट खण्डको मध्यपहाडी राजमार्ग तथा सतबाँझ–गोकुलेश्वर खण्डको महाकाली राजमार्गमा प्रतिक्रियात्मक मर्मतसम्बन्धी ठेक्का पनि रद्द भएको छ।
ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने सडक डिभिजन कार्यालयले बैतडीले जनाएको छ। साथै सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार कार्यसम्पादन जमानत तथा धरौटीबापतको बाँकी रहेको रकममध्ये जमानतबापतको रकम जफत गरिने सूचनामा उल्लेख छ।
सडक डिभिजनका अनुसार सम्झौता रद्द गरिएका काममध्ये भुक्तानी हुन बाँकी रहेको रकम स्वीकृत रूपमा सम्पन्न भएको काम भएमा त्यसको भुक्तानीसमेत गर्न सकिनेछ। त्यसका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायी वा निजको प्रतिनिधिलाई सडक डिभिजन कार्यालयमा सम्पर्क गरी आर्थिक फरफारक गर्न आग्रह गरिएको छ।
तोकिएको अवधिभित्र निर्माण व्यवसायी वा प्रतिनिधि कार्यालयमा उपस्थित नभए डिभिजन कार्यालयका प्राविधिकबाट नापजाँच गरी आवश्यक आर्थिक फरफारक गरिने कार्यालयले जनाएको छ ।






