बैतडी, भदौ २८ गते । बैतडीकाे सुर्नया गाउँपालिका–५ हरिचनकी ३५ वर्षीया गौरा मडैको भीरबाट लडेर मृत्यु भएको छ । घर नजिकैको गोगनाडी खोला भीरमा आइतबार घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी मडैलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय दिपेन्द्रबहादुर मडैले जानकारी दिनुभयो ।
हरिचनबाट रीगा पुर्याउँदासम्म उनको मृत्यु भइसकेको उहाँले बताउनुभयो ।मडै रौलेश्वर स्वास्थ्यचौकीअन्तर्गत विगत पाँच वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ स्थानीयस्तरमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकाका रूपमा परिचित रहेको स्वास्थ्यचौकी प्रमुख नरेश मडैले बताउनुभयो ।
“नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन सक्रिय स्वयंसेविकाको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,” उहाँले भन्नुभयो ।मृतक मडैका दुई छोरा छन् । उनका श्रीमान् रोजगारीका लागि भारतको पिथौरागढमा रहेकामा घटनाको खबरपछि घर फर्किंदै गरेको बताइएको छ । गौराको निधनपछि मडै परिवारसँगै हरिचन गाउँ शोकमा डुबेको छ ।









