वासुलिङ बैतडी, भदौ ५ गते । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यता घट्दै गएको छ । जिल्लाका पुर्चौडी र मेलौलीमा इलाका प्रशासन कार्यालयबाट नियमित सेवा प्रवाह हुन थालेपछि स्थानीयस्तरमै प्रशासनिक सेवा पाउन थालेका हुन् ।
जिल्ला सदरमुकामबाट करिब एक सय किलोमिटर टाढा रहेको पुर्चौडीका नागरिक यसअघि सामान्य प्रशासनिक कामका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यतामा थिए । लामो दूरीको यात्रा, यातायात खर्च तथा काम नसकिए सदरमुकाममै बस्नुपर्ने अवस्थाले नागरिकलाई थप आर्थिक तथा समयको भार पर्ने गरेको थियो । अहिले भने इलाका प्रशासन कार्यालयबाटै सेवा उपलब्ध हुन थालेपछि उक्त बाध्यता क्रमशः हट्दै गएको स्थानीयवासी बताउँछन् ।
२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय पुर्चौडीले हालसम्म ११ हजार ४१५ वटा नयाँ नागरिकता र चार हजार ५१२ वटा नागरिकताको प्रतिलिपि वितरण गरेको कार्यालय प्रमुख उत्तम कटुवालले जानकारी दिनुभयो । विगतमा कर्मचारी अभाव तथा प्राविधिक समस्याका कारण सेवा प्रभावित हुने गरेको भए पनि पछिल्लो समय कार्यालयबाट नियमित र निरन्तर सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।
इलाका प्रशासन कार्यालयबाट सेवा पाउन थालेपछि प्रशासनिक काम निकै सहज भएको पुर्चौडी नगरपालिका–७ की बबिता रतुकीले बताउनुभयो । विगतमा नागरिकता तथा अन्य कामका लागि सदरमुकाम पुग्नुपर्ने र काम नसकिए त्यहीँ बस्नुपर्ने अवस्था रहेको अब त्सस्ता समस्याको समाधान हुदै गएको उहाँले बताउनुभयो । धेरै समस्या झेलेर सदरमुकाम जानुपर्ने र त्यहाँ पुगेपछि काम नसकिए बस्नुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो, अहिले गाउँनजिकैबाटै सबै काम हुन थालेपछि धेरै सहज भएको छ ।
पुर्चौडीमा मात्र नभई जिल्लाको तल्लो स्वराड क्षेत्रका नागरिकलाई समेत प्रशासनिक सेवा लिन सहज भएको छ । तल्लो स्वराड क्षेत्रलाई लक्षित गरी गत वैशाख २४ गते स्थापना भएको इलाका प्रशासन कार्यालय मेलौलीले स्थापना भएको चार महिनामै स्थानीयलाई नियमित सेवा दिन थालेको छ ।
कार्यालयबाट हालसम्म एक हजार ७७ वटा नयाँ नागरिकता जारी गरिएको कार्यालय प्रमुख महेश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार तीन सय ३८ वटा नागरिकताको प्रतिलिपि वितरण, एक हजार ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता र ९२ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।
कार्यालयमा आएका ५६ वटा नागरिक गुनासोसमेत सम्बोधन गरिएको उहाँले बताउनुभयो । स्थानीय सरकार तथा सरोकारवालाको सहभागितामा चार पटक बजार अनुगमनसमेत गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो ।
मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि तल्लो स्वराड क्षेत्रका नागरिकलाई सदरमुकाम पुग्नुपर्ने बाध्यता कम भएको स्थानीयवासीको अनुभव छ । मेलौली नगरपालिका–७ की पदमा भट्टले स्थानीयस्तरमै प्रशासनिक सेवा उपलब्ध हुँदा समय र खर्च दुवै बचत भएको बताउनुभयो । स्थानीय नरायणदत्त बागले पहिले नागरिकता वा राहदानी बनाउन सदरमुकाम पुग्दा दिनभर समय र ठूलो रकम खर्च हुने गरेको बताउनुभयो ।
उहाका अनुसार पहिले नागरिकता वा राहदानी बनाउन पूरै दिन खर्च गरेर सदरमुकाम जानुपर्थ्यो, अहिले आफ्नै नजिकको कार्यालयबाट सेवा पाउन थालेपछि निकै सहज भएको छ । भौगोलिक रूपमा विकट र सदरमुकामबाट टाढा रहेका क्षेत्रका नागरिकलाई लक्षित गरी इलाका प्रशासन कार्यालयबाट सेवा विस्तार भएपछि प्रशासनिक सेवामा नागरिकको पहुँच बढेको छ । स्थानीयस्तरमै नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि सामान्य प्रशासनिक कामका लागि सदरमुकाम पुग्नुपर्ने समय, खर्च र झन्झट घट्दै गएको छ ।








