बैतडी, असार १९ गते । बैतडीको मेलौली नगरपालिका–९ अन्तर्गत तीनजोर्ना–हरडाखान–कान्तिपुर–वडा कार्यालय जोड्ने सडक स्तरोन्नति योजना सामुदायिक वनको आपत्तिपछि पुनः विवादमा परेको छ।
असुरमौजा सामुदायिक वन उपभोक्ता समूहले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी वन क्षेत्रभित्र सडक विस्तार गर्न खोजिएको भन्दै डिभिजन वन कार्यालय बैतडीमा आवश्यक पहलका लागि आग्रह गरेपछि मेलौली सब–डिभिजन वन कार्यालयले असार १८ गते डिभिजन वन कार्यालयसँग निर्देशन मागेको हो।
सामुदायिक वनले सडक विस्तारका क्रममा वन क्षेत्र, जैविक विविधता तथा आसपासका बस्तीमा जोखिम बढ्ने भन्दै आवश्यक कानुनी प्रक्रिया र वातावरणीय अध्ययन पूरा नभएसम्म निर्माण कार्य अघि नबढाउन आग्रह गरेको छ। वन उपभोक्ता समूहका अध्यक्ष रामदत्त भट्टले वन संरक्षणका लागि आवश्यक परे कानुनी प्रक्रिया अपनाइने बताउनुभयो।
यता, सब–डिभिजन वन कार्यालयले पनि उक्त सडक सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले वन पैदावारमा क्षति पुग्न सक्ने उल्लेख गर्दै डिभिजन वन कार्यालयसँग आवश्यक निर्देशन मागेको छ। अब डिभिजन वन कार्यालयको निर्णयपछि मात्रै सडक निर्माण कार्य अघि बढ्ने वा नबढ्ने टुंगो लाग्ने देखिएको छ।
यसअघि सडक निर्माणको माग गर्दै वडा सदस्य जनकराज भट्ट र पूर्व वडा सदस्य भीमदत्त भट्ट अनशनमा बसेका थिए। नगर प्रमुख भीमबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलालगायतको उपस्थितिमा भएको छलफलपछि निर्माण कार्यलाई निरन्तरता दिने सहमति जुटेपछि अनशन फिर्ता भएको थियो। तर त्यसलगत्तै सामुदायिक वनले आपत्ति जनाउँदै पत्राचार गरेपछि योजना पुनः अन्योलमा परेको छ।
वनका प्रतिनिधिले वर्षायाममा जोखिमयुक्त क्षेत्रमा डोजर प्रयोग गरी प्रशासनले हस्तक्षेप गरेको आरोपसमेत लगाएका छन्।










