बैतडी : दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित कुल्लेकोट दरबार संरक्षणको अभावमा भग्नावशेष बन्दै गएको छ । कुनै समय न्याय र सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिएको यो ऐतिहासिक स्थल अहिले उपेक्षित अवस्थामा रहेको छ ।
स्थानीयका अनुसार चन्द वंशकालीन यो दरबार सामाजिक विवाद समाधान तथा न्याय प्रदान गर्ने महत्वपूर्ण केन्द्र थियो । पुस्तौँदेखि न्याय खोज्ने परम्परासँग जोडिएको यो स्थललाई सामाजिक न्यायको प्रतीकका रूपमा हेर्ने गरिन्छ ।
किंवदन्तीका अनुसार यहाँ एकै रातमा पाँचवटा मन्दिर निर्माण गरिएको थियो । चारवटा पूरा भए पनि एउटा अधुरै रहेको र पाँच पाण्डव आएर निर्माण गराएको भन्ने धार्मिक आस्था अझै कायम रहेको स्थानीय उदव सिहं मार्कण्डले बताउनुभयाे । हाल दरबार क्षेत्रमा ढुङ्गाहरू छरपस्ट छन् । मूर्ति तथा शिलालेख हराएका छन् र निकटवर्ती कुवाहरू माटोले पुरिँदै गएका छन् ।
यस्तो अवस्थामा स्थानीय र सरोकारवालाहरूले दरबारलाई संग्रहालय, पुस्तकालय र सांस्कृतिक अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्ने माग गरेका छन् । परियोजनाका लागि रु. दुई करोड चालीस लाखदेखि छ करोड पचास लाखसम्म लागत लाग्ने प्रारम्भिक अनुमान रहेको जनाइएको छ ।
सम्बन्धित निकायले समयमै संरक्षण र पुनर्स्थापनाको पहल नगरे यो ऐतिहासिक धरोहर सदाका लागि लोप हुने खतरा रहेको स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।








