बैतडी : बैतडीमा चट्याङको प्रकोपले पशुधनमा क्षति पुर्याएको छ भने एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको पाटन नगरपालिका–१० सल्लेबासाका राजेन्द्र भट्टको घरमा मंगलबार दिउँसो साढे चारबजेतिर चट्याङ पर्दा गोठमा बाँधेको एक गाई मरेको र एक गाई घाइते भएको प्रहरीले जनाएको छ । उक्त घटनामा घरको विद्युत वाइरिङ समेत नष्ट भएको छ ।
त्यस्तै मंगलबार बिहान चार बजेतिर सुर्नया गाउँपालिका–७, झाड्बोमा स्थानीय डम्मर महराको घरमा चट्याङ पर्दा एउटा भैँसी र एउटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।
यस बीच डिलाशैनी गाउँपालिका–४ मठैराजका ४८ वर्षीय गणेशदत्त पन्त बुधबार बिहान घरबाट करिब एक सय मिटर टाढा रहेको बाटोमा मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा अनुसन्धानका लागि धामीगाउँ प्रहरीचौकीबाट प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।














