केशवराज भट्ट बैतडी वैशाख १५ गते ।
सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले बैतडीमा घरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला हुलाक कार्यालय बैतडीबीच २०८३ वैशाख १५ गते सम्झौता भएपछि उक्त सेवा कार्यान्वयनमा ल्याइएको हो।
सम्झौताअनुसार अबदेखि राहदानी बनाउन चाहने नागरिकले आफूले चाहेको स्थानमा—विशेषगरी घरमै—पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
यस सेवामार्फत राहदानी तयार भएपछि जिल्ला हुलाक कार्यालयमार्फत सम्बन्धित व्यक्तिको घरदैलोमै पुर्याइने जनाइएको छ। यसले विशेषगरी दुर्गम क्षेत्रका सेवाग्राही, ज्येष्ठ नागरिक, तथा कार्यालयसम्म पुग्न असहज हुने व्यक्तिहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
कार्यालयले दिएको जानकारीअनुसार सेवा सञ्चालनसँगै सेवाग्राहीको समय, खर्च र झन्झट घट्ने विश्वास गरिएको छ। यसअघि राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता रहेकामा अब हुलाकमार्फत घरमै सेवा प्राप्त गर्न सकिने भएको प्रमुख जिल्ला अधिकारी डा• डिजन भट्टराईले जानकारी दिनुभयो ।
सम्बन्धित निकायले सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय तथा व्यवस्थापन मिलाइएको जनाएको छ। साथै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी यो सुविधाको उपयोग गर्न आग्रह गरिएको छ।










