वासुलिङ बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर आइतबार बिहान करिब १० बजे सिगास–८ स्थित सानीगाड खोलामा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परी सिगास गाउँपालिका–८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । ट्याक्टर चालक भने फरार रहेको र उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। ट्याक्टरमा चालकसहित दुई जना मात्र सवार रहेका थिए।
दुर्घटनामा ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ।










