बैतडी । मातातीर्थ औँसीका अवसरमा बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेस्वर माध्यमिक विद्यालय हुक्केडाडाले १९ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच विद्यालय सेवा क्षेत्रभित्रका ६८ वर्षमाथिका आमाहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार वि.सं. २०७४ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रम अन्तर्गत हरेक वर्ष ज्येष्ठ आमाहरुलाई सम्मान गर्ने परम्परा रहँदै आएको छ ।
यस वर्ष सम्मानित हुने आमाहरुमा कलावती भाट, पार्वती महरा, जानकी भाट, जानकि भाट, रामा भाट, रोहिना मडै, कल्सा महरा, जैमती महरा, रोहिना महरा, दुरा महरा, कृष्णा चन्द, मानमती महरा, मानमति महरा, हरिना लुहार, काली लुहार, परु महरा, अन्फा महरा, कलावती भाट र जस्मा महरा रहेका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाट, प्रधानाध्यापक प्रकाश सिंह महरा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागितामा आमाहरुलाई फलफूल वितरण, टीका लगाउने तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
आमाहरुको त्याग, माया र योगदानप्रति कृतज्ञता व्यक्त गर्दै समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान र आदरको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
साथै विद्यार्थीहरुको भावनात्मक विकासमा सहयोग पुर्याउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको विद्यालयले जनाएको छ ।
विद्यालयले शैक्षिक गतिविधिसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै सामाजिक तथा संस्कारमूलक सन्देश प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ ।









