वाशुलिङ बैतडी, फागुन २१ गते । बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सुरु भई जारी रहेको छ। जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो।
जिल्लामा एक अस्थायीसहित कुल २ सय १५ मतदान केन्द्र रहेका छन्। सबै केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र हालसम्म कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहान १० बजेसम्म १२ हजार ९८२ मत खसेको छ। जसमध्ये ६ हजार २४१ पुरुष, ६ हजार ७४० महिला तथा १ अन्य मतदाता रहेका छन्।
प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो। सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएकाले निर्धक्क भएर मतदान गर्न आम मतदातालाई उहाँले आग्रह गर्नुभएको छ।
यसैगरी, सबै मतदान केन्द्रमा मतदाताको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो। अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा महिलालाई सहज रुपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको उहाँको भनाइ छ।
निर्धारित कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान सञ्चालन हुने भएकाले सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले सबै मतदातासँग अनुरोध गरेको छ।














