केशव भट्ट,बैतडीजेठ ३१ गते ।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा हिंसा पीडित तथा न्यायबाट वञ्चित व्यक्तिहरूका लागि न्यायिक समिति र सरोकारवालाबीच अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ।
गाउँपालिकाको न्यायिक समितिले न्यायमा पहुँच अभिवृद्धिका लागि वडानं १, २ र ३ का सरोकारवालाहरू र जनप्रतिनिधिहरूको सहभागितामा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विना भट्टको अध्यक्षतामा सम्पन्न भएको हो।
उपाध्यक्ष भट्टका अनुसार, महिलाहरू, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, आर्थिक–सामाजिक रूपमा पछाडि परेका तथा न्यायको खोजी गर्न नसकेका व्यक्तिहरूको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित अन्तरक्रिया कार्यक्रम गरिएको हो।
कार्यक्रममा पालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता हरीदत्त भट्टले हिंसा, विभेद तथा उजुरी प्रक्रियामा आवश्यक पर्ने कागजात र कानुनी प्रक्रियाबारे जानकारी गराएका थिए। उनले महिलाहरूको न्यायमा पहुँच बढाउन उनीहरू आफैँ अग्रसर हुनुपर्ने आवश्यकता पनि औंल्याए।
पालिका महिला तथा बालबालिका शाखा प्रमुख पदमबहादुर चन्दले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य प्रष्ट्याएका थिए। न्यायिक समिति सदस्य कालुसिंह जोशीले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा सहभागी महिलाहरूले घरको जिम्मेवारीसँगै बाहिरको काम गर्नुपर्ने बाध्यता रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्य स्वयंसेविका लगायत स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।










