दोगडाकेदारका घाइते पुरुषको घुँडामुनि दुबै हड्डी भाँचिएपछि सिआरआइएफ प्रविधिबाट उपचार
बैतडी, चैत १० गते । काटेको रुख ढलेर खुट्टामा परेपछि दोगडाकेदार गाउँपालिका–३ का एक पुरुषको घुँडामुनिको दुबै हड्डी भाँचिएको छ । घटनापछि तत्काल जिल्ला अस्पताल बैतडीको आकस्मिक कक्षमा ल्याइएका ती घाइतेलाई बाहिर रेफर गरिने अनुमान गरिएको भए पनि अस्पतालकै विशेषज्ञ टोलीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।
बैतडी अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. दिपेन्द्र भण्डारी तथा जनरल फिजिसियन डा. अरविन्द जोशीसहितको टोलीले पहिलो पटक सानो चिरा पारेर गरिने क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेशन (सिआरआइएफ) विथ आइएमआइएल नेलिङ प्रविधिबाट शल्यक्रिया गर्ने निर्णय गरेको थियो । यसअघि अस्पतालमा यस्ता शल्यक्रिया ठूलो चिरा पारेर रड राख्ने विधिबाट गरिँदै आएको थियो ।
सानो चिराबाट गरिएको शल्यक्रिया सफल भएपछि बिरामीले छिटो हिँडडुल गर्न सक्ने र उपचार अवधि पनि कम हुने चिकित्सकहरुको भनाइ छ । अस्पतालका प्रमुख डा. अरविन्द जोशीले उक्त प्रविधिबाट गरिएको यो शल्यक्रिया बैतडी अस्पतालका लागि पहिलो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ हाम्रो चिकित्सक टोलीको सामूहिक प्रयासले शल्यक्रिया सफल भएको छ । यसले अब जिल्ला अस्पतालमै यस्ता जटिल उपचार सम्भव रहेको उदाहरण प्रस्तुत गरेको छ ।”
उहाँका अनुसार यस्तै प्रकारको शल्यक्रियाका लागि अन्य सरकारी अस्पतालमा ७० देखि ८० हजार रुपैयाँसम्म खर्च लाग्ने भए पनि बैतडी अस्पतालमा भने ५० हजार रुपैयाँभन्दा कममै उपचार सम्पन्न गरिएको छ । निजी अस्पतालमा भने यस्तो उपचारका लागि डेढ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । जिल्ला बाहिर रेफर गर्नुपरेको भए बिरामीलाई यातायात तथा अन्य खर्चसमेत थपिन्थ्यो ।
जिल्ला अस्पतालमै जटिल उपचार सेवा उपलब्ध हुँदा नागरिकको आर्थिक बोझ कम हुनुका साथै सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास समेत बढ्ने अस्पताल प्रशासनको भनाइ छ ।
कुनै समय चिकित्सक अभाव झेल्दै आएको बैतडी अस्पतालमा हाल चार विशेषज्ञसहित १० जना चिकित्सक कार्यरत छन् । तर १६ शय्याको दरबन्दीमा ५० शय्यासम्म सेवा सञ्चालन गर्नुपर्दा अस्पताललाई आर्थिक भार भने बढिरहेको अस्पताल प्रमुख जोशीले बताउनुभयो ।
विगतदेखि नै अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गर्नुपर्ने माग उठ्दै आए पनि हालसम्म आवश्यक दरबन्दी स्वीकृत हुन सकेको छैन । अस्पतालको सेवा विस्तारका लागि सरकारबाट पर्याप्त जनशक्ति र उपकरण व्यवस्थापन आवश्यक रहेको सरोकारवालाको धारणा छ ।














