केशवराज भट्ट, वाशुलिङ्ग, बैतडी, फागुन २८ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्वाचन प्रहरीलाई बैतडीमा सम्मानसहित बिदाइ गरिएको छ।
निर्वाचन अवधिभर जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिएका निर्वाचन प्रहरीलाई आज एक कार्यक्रमकाबीच उनीहरूले पाउने सेवासुविधासहित औपचारिक रूपमा बिदाइ गरिएको हो।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले अस्थायी रूपमा भर्ना गरिएका निर्वाचन प्रहरीले मतदानको समयमा मतदानस्थलको सुरक्षा व्यवस्थापन, मतदातालाई भयरहित वातावरणमा मतदान गर्न सहयोग तथा अन्य सुरक्षाकर्मीहरूसँग समन्वय गर्दै जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।निर्वाचन सम्पन्न भएसँगै उनीहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको हो।
जिल्लामा नेपाल प्रहरी तर्फबाट एक हजार दुई सय ७९ जना तथा सशस्त्र प्रहरी बल नेपाल तर्फबाट ९६ जना गरी उल्लेख्य संख्यामा निर्वाचन प्रहरी भर्ना गरिएको थियो। ती प्रहरीलाई निर्वाचन अवधिभर मतदान केन्द्र, मतपेटिका ढुवानी, मतगणनास्थलको सुरक्षा लगायतका जिम्मेवारीमा खटाइएको थियो।
निर्वाचनमा खटिएका प्रहरीलाई उनीहरूले पाउने सेवासुविधासहित बिदाइ गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताउनुभयो।
उहाँका अनुसार निर्वाचन अवधिभर जिल्लामा शान्ति–सुरक्षा कायम राख्न निर्वाचन प्रहरीको योगदान महत्वपूर्ण रहेको छ।
बैतडीका दुई सय १५ वटै मतदान केन्द्रमा अन्य सुरक्षाकर्मीहरूसँगै निर्वाचन प्रहरी परिचालन गरिएको थियो। मतदानको दिन मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण बनाउनुका साथै मतदान केन्द्रको अनुशासन कायम राख्न उनीहरूले सक्रिय भूमिका निर्वाह गर्नुभएको॥भियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बैतडी का प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँले निर्वाचनका क्रममा मतदान केन्द्रको सुरक्षा व्यवस्थापनदेखि मतगणनास्थलसम्म सुरक्षाको घेरा मजबुत बनाउन निर्वाचन प्रहरीको भूमिका प्रभावकारी रहेको उल्लेख गर्नुभयो।
बैतडीमा सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म र जिल्ला प्रहरी कार्यालय बैतडीले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ गरेको हो। कार्यक्रममा उनीहरूको सेवाप्रति कृतज्ञता व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित बनाउन उनीहरूले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताइएको थियो।
निर्वाचनका बेला जिल्लाका दुर्गम र ग्रामीण क्षेत्रका मतदान केन्द्रमा समेत सुरक्षाकर्मी परिचालन गरिएको थियो। दुर्गम भूगोल, लामो दूरी र कठिन भौगोलिक अवस्थाका बाबजुद निर्वाचन प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन्।
देशभर सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा करिब डेढ लाख निर्वाचन प्रहरी परिचालन गरिएको थियो। लोकतान्त्रिक अभ्यासलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेलेका ती प्रहरीहरू निर्वाचन सम्पन्न भएसँगै आफ्ना नियमित कार्यक्षेत्रतर्फ फर्किएका छन्।
यसपटकको निर्वाचनमा देशभर करिब डेढ लाख निर्वाचन प्रहरी परिचालन गरिएको थियो।










