केशव भट्ट, बैतडी, फागुन २६गते । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि जिल्लाभर चुनावी समीक्षा तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरेको छ।
मंगलबारदेखि जिल्लाका सबै पालिकामा पुगेर चुनावी समीक्षा तथा मतदातासँग भेटघाट गर्ने कार्यक्रम सुरु गरिएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा कांग्रेस पराजित भएपछि समीक्षा कार्यक्रम सञ्चालन गरिएको नेपाली कंग्रेस बैतडीले जनाइएको छ।
कार्यक्रमअन्तर्गत आज पञ्चेश्वर गाउँपालिकाको आमचौरा र शिवनाथ गाउँपालिकाको सुल्लेखानमा समीक्षा कार्यक्रम सम्पन्न भएको महाधिवेशन प्रतिनिधि कर्णसिंह साउँदले जानकारी दिनुभयो।
कार्यक्रममा निर्वाचन परिणाम, पराजयका कारण तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुनुका साथै मतदातालाई धन्यवाद ज्ञापन गरिएको साउदले जानकारी दिनुभयो ।
समीक्षा क्रममा पार्टीभित्रकै अन्तर्घातका कारण निर्वाचनमा पराजय व्यहोर्नुपरेको निष्कर्षसमेत निकालिएको र यस विषयमा छलफल भइरहेको कांग्रेसले जनाएको छ।
कार्यक्रमअनुसार भोलि बिहान ११ बजे मेलौलीको काँडा र दिउँसो ३ बजे पाटन बजारमा समीक्षा कार्यक्रम हुने जनाइएको छ। त्यसैगरी फागुन २८ गते सिगास गाउँपालिकाको गर्जे, फागुन २९ गते पुर्चौंडी नगरपालिकाको हाट, फागुन ३० गते डिलाशैनी गाउँपालिकाको धामीगाउँ, चैत १ गते दोगडाकेदार गाउँपालिकाको खिरीगाउँ तथा सोही दिन दिउँसो सुर्नया गाउँपालिकाको डुङरीमा कार्यक्रम आयोजना गरिनेछ।
यस्तै,चैत २ गते बिहान ११ बजे दशरथचन्द नगरपालिकास्थित पार्टी कार्यालय गोठलापानीमा समीक्षा कार्यक्रम गर्ने तयारी गरिएको छ।
उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीसँग पराजित हुनुभएको थियो। भण्डारीले २२ हजार १३४ मत प्राप्त गरी विजयी हुँदा चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभएको थियो।










