back to top
Home मुख्य समाचार बैतडीमा प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा

बैतडीमा प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा

0
88

बैतडी – भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका एक अस्थायीसहित २ सय १५ वटै मतदान केन्द्रमा मतपत्र तथा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहायक कर्मचारीहरू खटिइसकेका छन् । उनीहरूले मतदानसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइरहेका छन् ।

मतदान केन्द्रमा सूचना टाँस गर्ने, मुचुल्का उठाउने, सर्वदलीय बैठक आयोजना गर्ने तथा मतदान केन्द्र व्यवस्थापनका कार्य भइरहेको जिल्ला निर्वाचन अधिकारी भारतीले बताउनुभयो ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस निर्वाचन क्षेत्रमा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर करिब एक हजार दुई सय ८८ जना कर्मचारी र २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा नेपाली सेनाले बेस क्याम्प स्थापना गरेको छ । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन सुरक्षामा खटिने अन्य सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सबै मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here