मतदाताको शिर निहुरिन दिने छैन’—उम्मेदवार चन्द
केशव भट्ट, बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बैतडीले जिल्लाभर संगठन विस्तारलाई तीव्रता दिएको छ। दस वटा स्थानीय तह रहेको बैतडीका ८४ वटै वडामा कांग्रेसले प्रचार–प्रसार समिति गठन गरिसकेको छ।
पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले वडास्तरमै क्रियाशील सदस्यहरूलाई समेटेर समिति गठन गरिएको नेपाली कांग्रेस बैतडीका सह–सचिव दिपेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो। “जिल्लाका सबै ८४ वडामा प्रचार–प्रसार समिति गठन भइसकेको छ,” उहाँले भन्नुभयो, “अब अभियान जनताको घरआँगनमै केन्द्रित छ।”
दुई दशकपछि नेपाली कांग्रेसले ‘रुख’ चिन्हबाट उम्मेदवारी पाएको यस निर्वाचनमा पार्टीका जिल्ला सभापति चतुर बहादुर चन्द प्रतिस्पर्धामा हुनुहुन्छ। नेपाल क्रिकेट संघ (क्यान) का दुई कार्यकाल अध्यक्ष, लामो समय नेपाल शिक्षक संघको नेतृत्व सम्हालिसक्नुभएका चन्द यसपटक संसदीय राजनीतिमा सक्रिय भूमिकाका साथ अघि बढ्नुभएको हो।
उम्मेदवार चन्द अहिले मतदाताको घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ। कांग्रेस बैतडीका सचिव प्रेम बहादुर चन्दका अनुसार पुर्चौंडी नगरपालिकाबाट घरदैलो अभियानको औपचारिक शुभारम्भ गरिएको हो। उम्मेदवारी दर्तापछि उहाँ प्रत्येक स्थानीय तहका वडावडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनुभएको छ।
“जसरी क्रिकेटमार्फत नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन भूमिका खेलेँ, त्यसरी नै बैतडीका साझा समस्यालाई सदनसम्म पुर्याउने दृढ संकल्पसहित चुनावी मैदानमा उत्रिएको छु,” चन्दले बताउनुभयो।
देशको राजनीति संवेदनशील मोडमा उभिएको अवस्थामा चन्द निर्वाचनमा होमिनुभएको छ। भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि देखिएको राजनीतिक चेतनाले युवापुस्तालाई थप सक्रिय बनाएको विश्लेषण गरिँदै आएको छ। कांग्रेस बैतडीका सभापति तथा क्यानका पूर्व अध्यक्षका रूपमा कुशल कार्यसम्पादन गरिसक्नुभएका चन्द पार्टी मात्र नभई युवापुस्तामाझ पनि रुचाइएका उम्मेदवार मानिन्छन्।
आम नागरिकका गुनासा व्यवस्थापन, अभावको पूर्ति, गरिबी न्यूनीकरणसँगै दशकौँको बलिदानबाट प्राप्त संविधानको रक्षा र पूर्ण कार्यान्वयन आफ्नो प्रमुख एजेन्डा रहेको उहाँको भनाइ छ।
घरदैलो अभियानका क्रममा चन्द पुर्चौंडी, डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया लगायतका ग्रामीण बस्तीहरूमा पुगेर मतदाताका समस्या र अपेक्षा सुनिरहनुभएको छ। कतिपय मतदाताले बाल्यकालदेखि चिनेका क्षमतावान साथी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकोमा खुशी व्यक्त गरेका दृश्य सामाजिक सञ्जालमा पनि देखिएका छन्।
यस्तै सहिद दशरथचन्द र एसियाकै पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी जस्ता व्यक्तित्वहरूको जिल्ला बैतडीबाट चन्दको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
स्थानीय तहदेखि नीति निर्माण गर्ने संघीय संसदसम्म पुगेर सडक, खानेपानी, विद्युत् विस्तारदेखि समग्र विकासका मुद्दा उठाउने अपेक्षा मतदाताको छ। त्यसैलाई आत्मसात् गर्दै उम्मेदवार चन्दले स्पष्ट शब्दमा भन्नुभएको छ—म तपाईँहरूको शिर निहुरिन दिने छैन। गलत बाटोमा कहिल्यै हिँड्दिनँ र यो भाष्य परिवर्तन गरेर देखाउँछु चन्दले भन्नुभयो। यो संगै बैतडीमा एक जना स्वतन्त्र सहित ११ जना प्रतिस्पर्धामा उत्रिएका छन।














