केशव भट्ट, बैतडी । आगामी मंसिर २१ गते हुन गइरहेको संघीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले नेपाली कांग्रेस सुर्नया गाउँपालिका समितिले प्रचार–प्रसार समिति गठन गरेको छ ।
शुक्रबार सुर्नया गाउँपालिकाको वडा नम्बर ५ मा सम्पन्न भव्य पालिका भेलाले नरेन्द्र सिंह महराको संयोजकत्वमा ५२५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको हो ।
गठित समितिमा नेपाली कांग्रेस बैतडीका पूर्व जिल्ला विकास समिति उप–सभापति तथा कांग्रेस नेता विष्णुदत्त जोशी, पार्टीका सह–सचिव दिपेन्द्र बहादुर चन्द, जिल्ला सदस्य चन्द्रसिंह ऐरीसहित वडा नम्बर १ देखि ८ सम्मका वडा सभापतिहरू, विभिन्न समितिका पदाधिकारी तथा भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन् ।
भेलाले आगामी बिहीबारदेखि गाउँपालिकाका आठवटै वडामा वडा स्तरीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
साथै पार्टीका जिल्ला तथा क्षेत्रले तोकेका प्रतिनिधिहरूले वडास्तरमै पुगेर पार्टीका गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको पालिका सभापति प्रताप सिंह महराले जानकारी दिनुभयो ।
कार्यक्रम कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको थियो । भेलामा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण र घरदैलो अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जनाइएको छ ।













