केशव भट्ट। बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रभित्र रहेका एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष २०७९/८० देखि एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाले चालु आवका लागि यस शीर्षकमा एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
हाल नगर क्षेत्रभित्र ३६ जना एचआइभी सङ्क्रमित रहेका छन्। सोही रकमबाट उनीहरूलाई पोषण खर्च उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो ।
यसअघि आर्थिक वर्ष २०७९/८० मा एचआइभी सङ्क्रमितलाई तीनदिने व्यावसायिक तालिमसहित वस्तुगत टेवा स्वरूप प्रतिव्यक्ति १२ हजार रुपैयाँ उपलब्ध गराइएको थियो।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पोषण खर्चबापत प्रतिव्यक्ति ६ हजार रुपैयाँ प्रदान गरिएको थियो भने गत आर्थिक वर्षमा ३५ जनालाई जनही ५ हजार ७ रुपैयाँका दरले पोषण खर्च वितरण गरिएको थियो।
एचआइभी सङ्क्रमितको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले पोषण खर्चका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।
आगामी दिनमा पनि एचआइभी सङ्क्रमितको स्वास्थ्य र जीवनस्तर सुधारका लागि कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ।






