बैतडीमा एक लाख ५६ हजार ३ सय ७२ मतदाता कायम भएका छन्। आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता परिचालन र तयारी तीव्र बनाइन थालेको छ।
बैतडीमा हाल कुल एक लाख ५६ हजार ३७२ मतदाता मध्ये ७८ हजार ९८७ पुरुष र ७७ हजार ३८३ महिला तथा २ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।
यो संख्या अघिल्लो निर्वाचनको तुलनामा बढ्दो क्रममा रहेको छ भने, यो आखाडाले जिल्लामा लोकतान्त्रिक सहभागिता बलियो बन्दै गएको महसुस भएको राजनीतिक विस्लेशकहरु बताउछन्।
जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन आयोग, सुरक्षा निकाय तथा स्थानीय प्रशासनले आवश्यक तयारी अगाडि बढाएका बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य पौडेलले जानकारी दिनुभयो ।
यस्तै मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन, सुरक्षाको प्रबन्ध तथा अपांगता भएका र ज्येष्ठ नागरिकमैत्री मतदान केन्द्र निर्माणमा विशेष ध्यान दिइएको पौडेलले बताउनुभयो । जिल्लाका दुर्गम क्षेत्रसम्म मतदाता सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले भौतिक तथा प्राविधिक तयारीलाई प्राथमिकतामा राखिएको छ।
राजनीतिक दलहरू पनि निर्वाचनलाई केन्द्रमा राख्दै घरदैलो अभियान, सभासम्मेलन र जनसम्पर्कलाई तीव्र बनाइरहेका छन्। एक लाखभन्दा बढी मतदाताहरुको सहभागिताले बैतडीको निर्वाचनलाई थप चासोको विषय बनाएको छ। साथै मतदाताहरूले आफ्नो अमूल्य मत प्रयोग गरी सक्षम प्रतिनिधि चयन गर्ने अपेक्षा समेत गरिएको छ।










