(वाशुलिङ्ग) बैतडी, पुस १३ गते ।
नेपाली कांग्रेस बैतडीले पार्टी संगठन निर्माणमा योगदान पुर्याएका जेष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने कार्यक्रमलाई जिल्लाभर निरन्तरता दिरहेको छ।
कांग्रेस बैतडीले सञ्चालन गरेको उक्त अभियानअन्तर्गत हालसम्म जिल्लाका ७१ वडामा रहेका जेष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिसकिएको पार्टी सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयो।
चन्दका अनुसार शनिबार दोगडाकेदार गाउँपालिका–२, ३ र ७ का जेष्ठ क्रियाशील सदस्यलाई पार्टी कार्यालय खिरेगाउँमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो भने वडा नं. ४ र ५ का सदस्यलाई सिल्लेकमा सम्मान गरिएको छ।
पार्टी सभापति चतुरबहादुर चन्दले जेष्ठ क्रियाशील सदस्यहरूले कांग्रेसको संगठन विस्तार र मजबुतीकरणमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
कार्यक्रममा सम्मानित सदस्यलाई सम्मानपत्र प्रदान गर्नुका साथै खादा ओढाइ सम्मान गरिएको छ।
कांग्रेस बैतडीका अनुसार जिल्लाका कुल ८४ वडामध्ये दोगडाकेदार गाउँपालिकाका चार वडा र पुर्चौंडी नगरपालिकाका १० वडामा रहेका जेष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्न बाँकी रहेको छ।
बाँकी वडाका सदस्यलाई भने यसअघि नै सम्मान गरिसकिएको पार्टी सचिव देवराज जोशीले जानकारी दिनुभयो।
दोगडाकेदारमा सम्पन्न सम्मान कार्यक्रममा सभापति चन्दसहित सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिव दिपेन्द्रबहादुर चन्द, महासमिति सदस्य कौशिला चन्दलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
यसैक्रममा दोगडाकेदार गाउँपालिका–६ र ८ का जेष्ठ क्रियाशील सदस्यलाई यही पौष १५ गते मल्लाढीकमा तथा वडा नं. १ का सदस्यलाई पौष १६ गते रीममा सम्मान गर्ने कार्यक्रम तय गरिएको सचिव चन्दले जानकारी दिनुभयो।
यससँगै जिल्लाका गाउँ–घरमा आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि क्रमशः तीव्र बन्दै गएका छन्।
नेपाली कांग्रेसले जेष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्दै संगठनलाई सक्रिय बनाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रत्येक स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिएको छ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत पार्टी संरचना मजबुत बनाउने र संगठन सुदृढीकरणमा जोड दिँदै गतिविधि बढाइरहेको छ।
यसले बैतडीका ग्रामीण क्षेत्रमा निर्वाचनको माहोल क्रमशः बनिरहेको देखिएको छ।










