बैतडी पुष ५ गते । मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका बैतडीका नन्दराज भट्टलाई नेपाल जेसिजले उत्कृष्ट युवा पुरस्कार २०२५ प्रदान गरेको छ । जनकपुरधाममा सम्पन्न जेसिजको ५२ औँ राष्ट्रिय महाधिवेशनले सुर्नया गाउँपालिका–३ गोयली घर भइ हाल धनगढी बस्दै आएका भट्टलाई स्वर्ण पदकसहित सम्मान गरेको हो ।
जन्मजात अपाङ्ग रहेका भट्टले अपाङ्गतालाई कमजोरी नभई समाज परिवर्तनको शक्ति बनाउँदै विगत १५ वर्षदेखि मानव अधिकार, सामाजिक न्याय तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् । उनको संघर्ष, सेवा र सामाजिक प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै राष्ट्रियस्तरको यो सम्मान प्रदान गरिएको नेपाल जेसिजले जनाएको छ ।
महाधिवेशनमा देशभरका जेसिज प्रतिनिधिको उपस्थितिमा भट्टलाई सम्मान गरिएको हो । वक्ताहरूले भट्टको जीवन संघर्ष, आत्मविश्वास र निरन्तरताले युवापुस्तालाई प्रेरणा दिएको उल्लेख गरे । महाधिवेशनअन्तर्गत विभिन्न विधामा १० जना उत्कृष्ट युवालाई सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछि भट्टले आफूलाई सिफारिस गर्ने जेसिज फुलबारी शाखाप्रति धन्यवाद व्यक्त गर्दै दलित, अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका समुदायको हकहितका लागि थप उत्साहका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैतडीका नन्दराज भट्टलाई नेपाल जेसिजको उत्कृष्ट युवा पुरस्कार
सेयर गर्नु हाेस
सम्बन्धित समाचार












