बैतडी । बैतडीमा अब आकस्मिक बिरामीलाई रगतका लागि भौंतारिनुपर्ने दिन समाप्त हुने भएको छ। आइतबार जिल्ला अस्पताल बैतडीमा भण्डारणसहितको मिनि ब्लड बैंक औपचारिक रूपमा सञ्चालनमा आएसँगै जिल्लावासिलाई आवश्यक रगत समयमै उपलब्ध गराउने बाटो खुलेको हो।
जिल्लामा दुर्घटना, प्रसूति तथा शल्यक्रियाका बिरामीलाई रगत अभाव पर्ने समस्या पटक–पटक देखिँदै आएकाले मिनि ब्लड बैंक स्थापना अत्यावश्यक भएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए।
“पहिले रगत चाहिने बेला बिरामीले सुरक्षा निकायका प्रतिनिधिमै भर पर्नुपर्ने अवस्था थियो,” प्रजिअ पौडेलले भने, “अब भने यहाँको रगत अभाव समाधानका लागि ब्लड बैंक नै प्रमुख आधार बन्नेछ।”
नेपाल रेडक्रस सोसाइटी बैतडी, दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालबीच भएको जिम्मेवारी बाँडफाँडअनुसार ब्लड बैंक स्थापना गरिएको हो।
दशरथचन्द नगरपालिकाले एक जना स्वास्थ्यकर्मी खटाएको छ भने रेडक्रसको समन्वयमा आवश्यक उपकरण तथा सामग्री जिल्ला अस्पतालले उपलब्ध गराएको अस्पतालका सूचना अधिकारी हरिष प्रसाद पन्तले जानकारी दिए। “अब आवश्यक परे तुरुन्तै बिरामीलाई रगत उपलब्ध गराइन्छ,” पन्तले भने।
जिल्लामा नियमित रूपमा रगत सङ्कलन थालिएपछि खपत नहुने रगतलाई डडेल्धुरा, धनगढी र कञ्चनपुरस्थित ब्लड बैंकमा पठाइने व्यवस्था मिलाइएको छ। यसले रगत नष्ट हुने समस्या कम गर्ने र सेवा प्रवाह थप सहज बनाउने अपेक्षा गरिएको प्रजिअ पौडेलले बताए।
मिनि ब्लड बैंक सञ्चालनमा आएसँगै बैतडीमा दीर्घकालीन रूपमा रगतको अभाव अन्त्य हुने र आकस्मिक सेवामा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।








