केशव भट्ट,बैतडी । जिल्लाभर घरपालुवा पशुपन्छीको सुरक्षाका लागि पूर्ण खोप अभियान सञ्चालन गरिने भएको छ। बैतडीका दशवटै स्थानीय तहमा अभियान यही महिनाबाट सुरु हुने भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका जानकारी दिनुभयो ।
अभियानका लागि जिल्लाभर २५ जना पशु प्राविधिक खटाइनेछन्। उनीहरूलाई अभिमुखीकरण तालिम समेत दिइसकिएको पन्तले बताए ।
पूर्ण खोप अभियानअन्तर्गत गाई–भैंसीलाई खोरेतविरुद्धको एफएमडी र लम्पीस्किनविरुद्धको एलएसडी खोप, बाख्रालाई पीपीआर विरुद्धको खोप र कुखुरालाई रानीखेत रोगविरुद्धको खोप दिइनेछ।
जिल्लाभर करिब १ लाख बाख्रा, ३० हजार गाई–भैंसी र ६० हजार कुखुरामा खोप लगाउने लक्ष्य रहेको पन्तले जानकारी दिए।
आगामी फागुन महिनासम्म सञ्चालन हुने सो अभियानले किसानको पशुधन सुरक्षामा टेवा पुर्याउने अपेक्षा गरिएको छ। प्रमुख पन्तका अनुसार व्यवसायिक पशुपालनमा संलग्न किसानहरू हरेक वर्ष विभिन्न रोगका कारण क्षति व्यहोर्दै आएको र त्यसको न्यूनिकरणका लागि खोप अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।








