केशव भट्ट,बैतडी। सुर्नया गाउँपालिकामा जारी तालाबन्दी माग सम्बोधन हुने ग्यारेन्टी भएपछि ताला खोल्ने जेनजी तथा जेनवाई समूहले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन।
सुर्नया–२ सतबाँझमा पत्रकार सम्मेलन गर्दै जेनजी समूहका अगुवा विशाल भट्टले ११ बुँदे माग अघि सारेको बताए । ती माग तत्काल सम्बोधन गर्ने वा पूरा गर्ने सुनिश्चितता भए तालाबन्दी खोल्न तयार रहेको उनले जानकारी दिए।
गाउँकार्यपालिका एकमत नहुँदा समस्या जटिल बन्दै गएको भन्दै भट्टले स्थानीय सरकार नै तालाबन्दी लम्बिएको जिम्मेवार रहेको आरोप लगाए। “हामी चार पटक वार्तामा बस्यौं, तर कार्यपालिका एकमत हुन सकेन,” जेनवाई समूहका अगुवा देवबहादुर चन्दले भने।
भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र नागरिक पहुँच विस्तारका लागि संघर्ष जारी रहेको समूहले जनाएको छ। उनीहरूले दरबन्दीविहिन कर्मचारी व्यवस्थापन, बेरुजु असुल, युवा परिषद गठन, सार्वजनिक सुनुवाइ र मदिरा बिक्री नियन्त्रणलगायत माग अघि सारेका बताए ।
भट्टले जबरजस्ती ताला खोले परिस्थिति बिग्रन सक्ने चेतावनी दिंदै वार्ता र संवादमै समाधान खोज्न तयार रहेको बताए ।
असोज २४ गतेदेखि जारी तालाबन्दीका कारण गाउँपालिकाका सबै सेवा ठप्प छन् भने सेवाग्राही मर्कामा परेका छन्।








