बैतडी — जिल्ला अस्पताल बैतडीमा अब तीन जना विशेषज्ञ चिकित्सकले नियमित सेवा प्रदान गर्ने भएका छन्। अस्पतालमा जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ नियुक्त भई सेवा प्रारम्भ गरिसकेका छन्।
अस्पतालका प्रमुख डा. सुशील विकका अनुसार जनरल फिजिसियन डा. पविन उपाध्याय, स्त्रीरोग विशेषज्ञ डा. रामकुमार यादव र हाडजोर्नी विशेषज्ञ डा. दिपेन्द्र भण्डारीले स्थायी रूपमा कार्यभार सम्हालेका छन्। हाडजोर्नी विशेषज्ञ भण्डारीको आगमनसँगै अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या तीन पुगेको उनले बताए।
अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार केही समयदेखि रोकिएको हाडजोर्नी सेवा पुनः सञ्चालनमा आएको छ। उहाका अनुसार, अब अस्पतालमा हातखुट्टा भाँचिएको उपचारदेखि प्लास्टर, अपरेशन, ढाड र कम्मर दुखाइ, घुँडा सुन्निने वा दुख्ने समस्या, नशा सम्बन्धी समस्या, पैताला पोल्ने, जन्मजात हातखुट्टा बाङ्गो हुने, तथा दुर्घटनापछि देखिने हड्डीसम्बन्धी उपचार सेवा उपलब्ध हुनेछ।
अस्पताल प्रशासनका अनुसार विशेषज्ञ सेवाको विस्तारसँगै अब जिल्लाका बिरामीले काठमाडौं वा अन्य शहर धाउनुपर्ने आवश्यकता घट्ने र स्थानीयस्तरमै गुणस्तरीय उपचार पाउने सम्भावना बढेको छ।










