केशवराज भट्ट, बैतडी , असोज १४गते।
बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँस्थित ऐतिहासिक निङ्लाशैनी भगवती मन्दिर असोज शुक्ल अष्टमीको दिन आस्था, विश्वास र परम्पराको केन्द्रबिन्दु बनेको छ । यस वर्षको महाअष्टमीमा मात्र चार सयभन्दा बढी राँगा र बोकाको बलि चढाइएको छ ।
परम्पराको निरन्तरता:पश्चिम नेपालको कर्णाली–सुदूरपश्चिम भूभागमा देवी आस्थाको प्रमुख केन्द्रका रूपमा परिचित यो मन्दिर परापूर्वकालदेखि बलि परम्परासहितको पूजा–आराधनाका लागि प्रख्यात रहँदै आएको छ । घटस्थापनादेखि सुरु हुने धार्मिक गतिविधि सप्तमीमा रांग बाँध्ने, अष्टमीमा बलि दिने यस्तै (आज) अष्टमीमा बलि दिएका राँगा यहाँका लाबड जातिले प्रसादको रुपमा खाने गर्दछन्।
स्थानीय पुराना मान्यताअनुसार यहाँ देवीको दर्शन गरी बलि चढाउनेले आफ्नो मनोकामना पूरा हुने जनविश्वास रहेको छ।
इतिहासका पानामा निङ्लाशैनी:इतिहासकारहरुको मान्यता अनुसार निङ्लाशैनी भगवतीको आराधना प्राचीन कालदेखि चलिआएको हो । कतिपय किवदन्तीले यो स्थललाई महाभारतकालीन घटनासँग पनि जोड्ने गरेका छन् । जनश्रुतिअनुसार तत्कालीन राजदरबारको संरक्षणमा बनेको मन्दिरले सुदूरपश्चिमेली समाजमा देवीभक्तिको परम्परा मजबुत बनाएको पाइन्छ ।
पुराना लिपी र स्थानीय मौखिक इतिहासमा निङ्लाशैनीलाई “क्षेत्रपाल देवी”को रूपमा उल्लेख गरिएको पाइन्छ । यही कारण यहाँ हुने जात्रालाई स्थानीय मात्र नभई छिमेकी भारतीय भक्तजनले पनि ठूलो उत्सवका रूपमा लिनेगतेको पाइन्छ ।
आस्थाको संगम, संस्कृतिको उत्सव:महाअष्टमीका दिन मन्दिर परिसरमा विहानैदेखि भक्तजनको घुइँचो लाग्छ । कतिपय श्रद्धालु नङ्गै खुट्टा कैयौं किलोमिटर पैदल यात्रा गरेर आउने गर्दछन् । घण्टीको आवाज, धुपधुवाको सुगन्ध, शंखध्वनि र ढोल–नगारा बजाइँदै देवीको जयघोषले सम्पूर्ण क्षेत्रमाथि आस्था र संस्कृतिको छटा फैलाइन्छ ।
यसवर्ष मात्र करिब ४सय सयभन्दा बढी राँगा बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर व्यवस्थापन समितिले जात्राको व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरेको छ भने मन्दिर परिसरलाई मदिरा निषेध क्षेत्र घोषणा गरिएको छ ।
धार्मिक पर्यटनको सम्भावना: मन्दिरका भण्डारे बताउनुहुन्छ,“यो जात्रा हाम्रो पहिचान हो, यसले गाउँ–समाजलाई एकै ठाउँमा ल्याउँछ ।” धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको निङ्लाशैनी मन्दिरलाई व्यवस्थित विकास र प्रचार–प्रसार गर्न सकिए धार्मिक पर्यटनको दृष्टिले यो क्षेत्र आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना प्रबल छ ।
निष्कर्ष:महाअष्टमीका दिन हुने निङ्लाशैनी भगवतीको विशेष पूजाआजा र बलि परम्परा केवल धार्मिक अनुष्ठान मात्र होइन, यो सुदूरपश्चिमेली समाजको साझा इतिहास, संस्कृति र विश्वासको अभिन्न अभिव्यक्ति मानिएको मन्दिरका पुजारी देवदत्त भट्टले बताउनुभयो ।










