बैतडी – बैतडीको पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा असोज १४ र १५ गते लाग्ने जात्रालाई लक्षित गर्दै वडा कार्यालयले पाटन बजार क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ।
वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टका अनुसार, मेला अवधिभर पूर्वमा नेपाल विद्युत प्राधिकरणको युनिट कार्यालय, पश्चिममा गोइडाखोला–पञ्चेश्वर सडक, उत्तरमा कृष्ण मावि पाटन र दक्षिणमा डोबरा टोल तथा बसर सडक क्षेत्रमा मदिराको कारोबार र सेवनमा रोक लाग्नेछ।
उनले थपे, “जात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन यो निर्णय गरिएको हो। नियम उल्लङ्घन गर्नेहरूलाई कानुन अनुसार कारबाही हुनेछ।”
साथै, मेलाको दिन पाटनस्थित बसपार्कमा मात्रै सवारी साधन पार्किङ गर्न वडा कार्यालयले अनुरोध गरेको छ। जथाभावी पार्किङले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले बसपार्कमै पार्किङ गर्न सबैलाई सचेत गराइएको छ।











