back to top
Home मुख्य समाचार बडादशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना

बडादशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना

0
81


बैतडी– बडादशैंको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको पूजा–आराधना देशभर श्रद्धा र भक्तिपूर्वक भइरहेको छ । नवरात्रका प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको विशेष आराधना गर्ने परम्परा रहिआएको छ ।

धार्मिक विश्वासअनुसार दुर्गाको दोस्रो रूपलाई ‘ब्रह्मचारिणी’ भनिन्छ । कठोर तपस्यामा निरन्तर लीन रहने भएकाले यिनीलाई ब्रह्मचारिणी नाम दिइएको हो । पुराणका उल्लेख अनुसार ब्रह्मचारिणी देवी शान्त, संयमित र तपमा मग्न रहन्छिन् । निरन्तर तपस्याका कारण उनको अनुहार तेजयुक्त र आभायुक्त हुने भनाइ छ ।

कमलासनमा आसन जमाएर विराजमान ब्रह्मचारिणी देवीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको प्रतिमा प्रचलनमा छ । योगसाधिकाको रूपमा समेत प्रतिष्ठित भएकी देवी ब्रह्मचारिणीलाई आरोग्य, आयु र शान्ति प्राप्तिका लागि आराधना गर्ने चलन छ । यिनीलाई ब्रह्मविद्या शक्तिकी माताको रूपमा पूजा–अर्चना गर्ने प्रचलन पुरातनकालदेखि निरन्तर हुँदै आएको छ । धार्मिक शास्त्रअनुसार ब्रह्मचारिणीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त हुने र ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने विश्वास गरिन्छ ।

नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वती देवीको पूजा–आराधना गरिन्छ । यसै क्रममा विभिन्न शक्तिपीठ, दशैंघर तथा घर–घरमा जमरा राखी नवदुर्गाको आवाहन गर्ने परम्परा प्रचलित छ । भक्तजन बिहान सबेरैदेखि मन्दिरमा पुगेका छन् भने शक्तिपीठमा पूजाआजा, दुर्गा पाठ र भजन–कीर्तन चलिरहेको छ । नवरात्रका नौ दिन क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन काल्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ ।

यस अवसरमा बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका देवी मन्दिरमा ठूलो संख्यामा भक्तजन पुगेका छन् । दशैंको बेला विशेषगरी सबै मन्दिरमा पूजाआजा तथा जात्रा हुने भएकाले दर्शनार्थीहरूको भीड बाक्लो हुने गर्छ । स्थानीय स्तरमा देवीमन्दिरमा भव्य मेलासमेत लाग्ने गर्दछ भने ग्रामिण क्षेत्रका दशैंघरमा पूजा–आराधना, दुर्गा पाठ र सामूहिक भजनकीर्तनले धार्मिक वातावरण झन् उत्साहमय बनेको छ ।

धार्मिक परम्परा, श्रद्धा र विश्वाससँगै नवरात्रको यो पर्वले सामूहिक एकता र सांस्कृतिक उत्सवलाई अझ सशक्त तुल्याइरहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here