केशव भट्ट,बैतडी, असोज ३गते । जिल्ला अस्पताल बैतडीमा यही असोज ४ गते शनिबार निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकका अनुसार सीएमसी नेपालको आयोजनामा र अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालनको तयारी गरिएको हो। मानसिक स्वास्थ्यका बिरामीहरूलाई लक्षित गर्दै शिविरको आयोजना गरिएको जानकारी उनले दिए।
शिविरमा मनोरोग विशेषज्ञ डा. विवेक रेग्मीद्वारा सेवा प्रदान गरिनेछ। साथै, डिप्रेशन, एन्जाइटी, अनिद्रा, मन आत्तिने जस्ता समस्या भएका व्यक्तिहरूको चेकजाँच तथा उपचार गरिनेछ।
जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा सेवा लिन आउने बिरामीहरूको चेकजाँच निःशुल्क गरिनेछ भने नेपाल सरकारबाट उपलब्ध हुने औषधिहरू पनि निःशुल्क प्रदान गरिनेछ।
डा. विकका अनुसार मानसिक समस्या दिनप्रतिदिन बढ्दै गएको र यसले जनस्वास्थ्यको चुनौतीको रूपमा विकास गरिरहेकाले अस्पतालले यस्ता मानसिक स्वास्थ्य शिविर हरेक महिना सञ्चालन गर्ने योजना बनाएको छ।
शिविरबाट स्थानीय बासिन्दाहरूले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।








