बैतडी, भदौ २० गते । बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा हिजोदेखि सुरु भएको शिविर आज पनि गाउँपालिका कार्यालयमै सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले उनीहरुको सहजताका लागि शिविर सञ्चालन गरिएको उनले स्पष्ट पारे ।
गाउँपालिकाका सूचना अधिकारी रामसिंह महराका अनुसार वडा नं ५ सहित अन्य वडाका नागरिकहरुले समेत शिविरमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै भदौ २१ र २२ गते वडा नं ६ को कार्यालय शंकरपुरमा दर्ता शिविर सञ्चालन हुनेछ । सो शिविरमा वडा नं ६, ७ र ८ का सेवाग्राहीहरुले विवरण दर्ता गर्न सक्नेछन् । यस्तै भदौ २३ र २४ गते वडा नं ४ को कार्यालयमा शिविर सञ्चालन हुनेछ । सो अवसरमा वडा नं ३ र ४ का सेवाग्राहीहरुले सेवा पाउनेछन् ।
जेष्ठ नागरिकहरुको सहजताका लागि स्थानीय तहहरुसँगको समन्वयमा सम्बन्धित वडामै शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान चलाइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।










