केशव भट्ट, बैतडी, भदौ १० – आज तीज पर्वको अवसरमा बैतडीका गाउँबस्तीहरू पूर्ण रूपमा उत्सवमय बनेका छन्। गाउँका आँगन, चौतारा र मठमन्दिरहरूमा महिलाहरूको भीड, लोकगीत र नृत्यले वातावरणलाई झिलिमिली बनाएको छ।
पाटननगरपालिका–४ की भागरथी भट्टले बिहानैदेखि आफ्नै आँगनमा दर बनाउने तयारी सुरु गरेकी थिइन्। उनले भनिन्, “आजको दिन हाम्रो लागि विशेष छ। व्रत बस्ने र नाचगानमा रमाउँदा साँच्चिकै आत्मीयता महसुस हुन्छ।” उनका छिमेकी कमला बिष्ट, सीता ऐरी र पुनम भट्ट लगायत महिलाहरू रातो सारी र हरियो पोतेमा सजिएर लोकगीत गाउनमा व्यस्त देखिन्थे।
गाउँका पुरुषहरू पनि महिलालाई सहयोग गर्दै मिठा परिकार तयार पार्ने काममा व्यस्त थिए। शिव मन्दिरको छेउमा बालबालिकाले रंगीन झण्डा र फूलले सजावट गरेर माहोललाई अझ रमाइलो बनाएका थिए, गोगडाकेदार गाउँपालिका–५ का सुरेन्द्र भट्टले जानकारी दिए।
सुर्नया गाउँपालिका–३ की द्रोपति भट्टले भनिन्, “पारम्परिक रूपमा मन्दिरमा पुगेर पूजा अर्चना गर्न हामी व्रत बस्छौँ, तर मुख्य उद्देश्य सामाजिक भेटघाट र हाम्रो संस्कृतिलाई जिवित राख्नु पनि हो।”
आजको तीजले केवल धार्मिक महत्व नभई सामाजिक सद्भाव, महिला एकता र परम्परागत रमझमलाई पनि उजागर गरेको छ। विदेशी रोजगारीबाट फर्किएका महिलादेखि स्थानीय युवती, बालबालिका र पुरुषसम्मले गीत–संगीत, नृत्य र परिकारको रमझममा सहभागिता जनाउँदै, तीजलाई गाउँभरि उत्सवका रूपमा मनाइरहेका छन्। दसरतचन्द नगरपालिकाकी उप-प्रमुख कौशिला भण्डले पनि यस अवसरमा आफ्नो खुसी व्यक्त गरिन्।
हरितालिका तीजको पौराणिक महत्व:
तीजको कथानुसार, पार्वतीले शिवलाई पति पाउँ भनी बालुवाको शिवलिङ्गको मूर्ति बनाएर १२ वर्षसम्म कठोर तपस्या गरेकी थिइन्। तर उनका बुवा हिमालय पर्वतले छोरी पार्वतीलाई शिवसँग नभई देवताहरूका राजा विष्णुसँग विवाह गर्न आग्रह गरे।
यो कुरा सुनेपछि पार्वती आत्महत्या गर्न तयार भइन्। तर उनका साथीहरूले थाहा पाएर पार्वतीलाई हराएर जंगलमा लुकाइदिएका थिए। यसैले आजको दिनलाई हरितालिका तीज भनिएको हो, सुर्नया–३ का खेमराज भट्टले जानकारी दिनुभयो।






