बैतडी : बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका समाजसेवी विनोद बिष्टसहित ६० जना नेपाली प्रवासी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
भारतको हैदरावादमा आयोजित कार्यक्रममा उनीहरूले पार्टी सदस्यता लिएका हुन्। रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)का अनुसार रोजगारीका लागि विदेशमा रहेका युवालाई संगठित गर्दै पार्टीमा भित्र्याउने अभियान सञ्चालन भइरहेको छ।
समाजसेवी बिष्टले आफूसहित बैतडीका ४० जना र अन्य जिल्लाका २० जना गरी ६० जना प्रवासीले सदस्यता लिएको बताए। प्रवासमै रहेर सामाजिक काममा सक्रिय रहेका उनले अब रास्वपामार्फत समाज परिवर्तनमा योगदान दिने बताए।
कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार, कोषाध्यक्ष लिमा अधिकारीलगायतका नेता सहभागी थिए।
रास्वपाले हाल भारतका विभिन्न शहरमा राज्य भेला आयोजना गर्दै प्रवासमा रहेका नेपालीलाई पार्टीमा प्रवेश गराउने अभियान सञ्चालन गरिरहेको जनाएको छ।








