वाशुलिङ्ग (बैतडी) – बैतडीसहित सुदूरपश्चिम प्रदेशका १३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिक क्याम्पसको रूपमा समायोजन गर्न माग गरिएको छ ।
बैतडीको पुर्चाैंडी बहुमुखी क्याम्पस हाट, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, दार्चुलाको शंकरपुर बहुमुखी क्याम्पससहितका १३ क्याम्पसलाई आंगिक बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियुका पूर्व उपाध्यक्ष गोविन्द गिरीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ती क्याम्पसहरूलाई आर्थिक वर्ष २०८२।०८३ भित्र सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत समायोजन गर्न आग्रह गरिएको पत्रमा उल्लेख छ । शिक्षा ‘सत्यसित नलड्ने र शक्तिसित नझुक्ने’ समाज निर्माणको आधार भएको उल्लेख गर्दै शिक्षामा लगानी वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुझाएको सो पत्रमा कञ्चनपुरको भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी, कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी, अछाम बहुमुखी क्याम्पस, डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस, कैलालीको लम्की र घोडाघोडी बहुमुखी क्याम्पस, बझाङको बझाङदीप र सुनकुडा बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस तथा कञ्चनपुरकै महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई समायोजन गर्न माग गरिएको छ ।
पूर्व उपाध्यक्ष गिरीका अनुसार सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेकाले शिक्षामा गरिएको लगानीले बसाइसराइ नियन्त्रण, स्थानीय रोजगारी सृजना तथा उत्पादनमुखी अर्थतन्त्रको आधार तयार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै आत्मनिर्भर राष्ट्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सोही अनुरूप क्याम्पस समायोजनको प्रक्रिया तत्काल अगाडि बढाउन ध्यानाकर्षण गराइएको हो ।
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगिक घोषणा गर्न माग
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
तिहारसँगै सुदूर पहाडका वनपाखामा खर काट्ने चटारो
हिन्दूहरुको दोश्रो ठूलो चाड तिहारको रौनकसँगै बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ ।
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ घाइते
बैतडीको मेलौली नगरपालिका–१, जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।











